पूर्वको प्रसिद्ध कनकाई नदीमा स्नान गर्नेको घुँइचो


सुरुङ्गा, १ माघ : मकर सङ्क्रान्तिका अवसरमा कनकाई नदी तटमा स्नान गर्नेको घुइँचो लागेको छ । नदी तटमा मङ्गलबारदेखि नै मेला लागेका छ । कनकाई माईमा लाग्ने मेला पूर्वको प्रसिद्ध मेला हो । मेलामा किराँत परम्परा एवं संस्कृति अनुरूप धाननाच देखाइने प्रचलन छ । कनकाई नदीलाई भगवती माईदेवीका रूपमा मान्ने गरिएको हुँदा आफ्नो मनोकांक्षा पूरा गर्न र भाकल पुरा गर्न भक्तजनको भिडलाग्ने गर्दछ । नदीमा स्नान गरेर तिलको लड्डु, तरुल खाएमा मनोकामना पूरा हुने जनविश्वास यहाँ रहेको पाइन्छ । कनकाई नदीको पूर्व तट र पश्चिम तट दुवैतर्फ अहिले मेला लागेको छ । मक्कर स्नान र मेला भर्नका लागि आउनेको भक्तजनको सहजताका लागि ३०० प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कनकाई नगरपालिको सुरुङ्गा बजारदेखि नै सीसी क्यामेराको निगरानीमा राखेर सवारीलाई एकतर्फी गरिएको छ ।

पुस मसान्तमा पकाएको पक्वान माघ १ गते खाने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति भनिएको हो । सूर्यको उदयविन्दू दक्षिण तर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण शुरु हुन्छ भन्ने मान्यता रहेको छ । माघे सङ्क्रन्तिमा तिलको विशेष महत्व रहेको छ । माघे सङ्क्रान्तिमा तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त परिकार खुवाउनु वा खान गरी छ प्रकारले तिलको उपयोग गर्ने व्यक्ति कहिल्यै असफल नहुने शास्त्रीय मान्यता छ । स्नान माघे संक्रान्तिको मुख्य विशेषता हो । माघे सङ्क्रान्तिमा बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्नाले चर्मरोग निको हुने विश्वास गरिन्छ । स्नान गर्न सम्भव भए गङ्गा नभए तीर्थ, नदी वा जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता छ ।   (रासस)

प्रतिक्रिया दिनुहोस्