अझै पनि दलित र गैह्रदलितका अलग अलग धारा !


अमरगढी, १७ मङ्सिर : जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन । अमरगढी नगरपालिकाकै वडा नं ५, ६, ७ र ८ का एउटै टोलमा रहेका दलित र गैह्रदलित परिवार छुट्टाछुट्टै नोला र धाराको पानी प्रयोग गर्छन् । दुवैका नोला र धारा करीब १५ देखि ५० मिटरको फरकमा हुन्छन् । बाक्लो बस्ती रहेको अमरगढी नगरपालिका–६ छचोडामा २५० दलित सुमुदायका टमटा जाती बस्छन् भने २० गैह्रदलित साहु र खड्का र रावल थर मानिस बस्छन् । टमटा गाउँमा दलितको नोला र धारामा पानी हुँदा गैह्रदलितको नोला र धारामा प्रशस्त पानी भएको बेलामा समेत पानी प्रयोग गर्न नपाइएको स्थानीय शिक्षक भक्तबहादुर बिकले बताउनुभयो ।

स्थानीय समाजसेवी पदम ताम्राकारले दलित समुदाय गर्मीयाममा पानीका लागि रातभरी जाग्राम बस्नुपर्ने वा दुई घण्टाको पैदलदुरीमा रहेको खोलाबाट फोहर पानी पिउनुपर्ने बाध्यता बताउनुभयो । अमरगढी–७ जोशी गाउँमा पनि दमाईँ र जोशी परिवारका लागि छुट्टाछुट्टै पानी धारा बनाइएका छन् । सो गाउँमा दलितबाहेक जोशी परिवारको बाहुल्यता छ । पहिलाबाट नै छुट्टाछुट्टै धारा प्रयोग गरे पनि दलित परिवारलाई आफ्नो धारामा रोक नलगाएको जोशी परिवारको भनाइ छ । जोशी परिवारमा महिला महिनावारी र सुत्केरी हँुदा दलितले प्रयोग गर्ने धारामा नुहाउने गरेको स्थानीय सुनादेवी दमाइँले जनाउनुभयो । दलित अगुवा भरत नेपालीले दलित र गैह्रदलित दुवै समुदायको क्षमता र चेतनाको विकास नभएसम्म जातीय विभेदको दुरीको अन्त्य हुन नसक्ने नेपालीको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्लामा दलित र गैह्रदलितका लागि छुट्टाछुट्टै धारा, कुवा र पँधेरा रहेको पाइन्छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्