खिमविक्रम शाहीको शिक्षक हुँदै प्रदेशसभाको यात्रा


बलेवा, १६ मङ्सिर : साढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा काँग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका अध्यक्ष पदमा ७०० मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य खिमविक्रम शाही प्रदेशसभा निर्वाचनमा भने विजयी हुनुभएको छ । शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । बागलुङ क्षेत्र नं। २ ९ख० मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो । शनिबार भएको निर्वाचनमा शाहीले काँग्रेसका जितबहादुर शेरचनलाई पराजित गर्नुभएको हो । शाहीले ११ हजार २३५ र शेरचनले नौ हजार १३८ मत पाउनुभयो । राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहनुभएका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लाग्नुभयो । त्यसपछि उहाँ विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गर्नुभयो ।

विसं २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त हुनुभएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहनुभयो । गत अधिवेशनमा सचिवालय सदस्यमा पुग्नुभएका शाही प्रदेशसभा निर्वाचनमा विजयी हुनुभयो । स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उहाँको प्रतिक्रिया छ । उसो त उहाँ प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउनुहुन्छ ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाउनुभएको थियो । पश्चिम बागलुङमा उहाँको यही योजना बिकेको छ । पश्चिम बागलुङको पुरानो खेती तथा कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने, त्यस क्षेत्रमा शिक्षा र सञ्चारको पहुँच पुयाउनेलगायतका काम गर्ने उहाँका चुनावी नारा थिए । सङ्घीयताविरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहीँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ । लामो समय सर्वसाधारणको तहमा भिज्नुभएका शाहीबाट पश्चिम बागलुङले धेरै आशा गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्