निःशुल्क आँखा शिविरमा पाँच सय बढी लाभान्वित


पर्वत, ४ मंसिर : जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो । गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योति मावि, अमृत आदर्श बोर्डिङ स्कूल मल्लाज, नव उत्साही समूह बेनीले स्वयंसेवक परिचालन गरेका थिए । आइतबारदेखि शुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिनुभयो ।

शिविरमा ५२३ जना लाभान्वित भएका क्लबका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो । दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन् । आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रु ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३०० थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्