डेङ्गु नियन्त्रण गर्न अभियानमा सरकार मात्र नभई आम नागरिक नै लाग्नुपर्ने : मन्त्री घिमिरे


विराटनगर, २९ साउन : प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गएको वैशाखदेखि सुनसरीको धरानमा देखिएको डेङ्गुले प्रदेशभरिमा तीन हजार १५२ जना प्रभावित भएको बताउनुभएको छ । प्रदेशसभाको बैठकमा विभिन्न सदस्यले उठाएको प्रश्नको जवाफको क्रममा आज उहाँले सो जानकारी दिनुभएको हो । उहाँले डेङ्गु सुनसरीको धरानबाट फैलिँदै अन्य जिल्लामा विस्तार भएको र सुनसरीमा सबै भन्दा बढी तीन हजार २५ बिरामी रहेको बताउनुभयो ।

मन्त्री घिमिरेले डेङ्गुको नियन्त्रण सरकारले मात्र नभई आम नागरिक नै लाग्नुपर्ने भन्दै नियन्त्रणका लागि विद्यालयका किशोर र किशोरीलाई अभियन्ताको रुपमा प्रयोग गरी सचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले मोरङको बैजनाथपुर रङ्गशाला निर्माणमा भएको भनिएको भ्रष्टाचारको सम्बन्धमा प्रदेश सरकारले रु ४३ लाख मात्र विनियोजन गरेको भन्दै विनियोजित रकममा रु २६ लाख मात्रको काम भएकोले भ्रष्टाचार नभएको प्रतिक्रिया दिनुभयो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ । छलफलमा प्रदेशसभासदस्य इन्दिरा राई, उमिता विश्वकर्मा, केदार कार्की, झलकबहादुर मगर, तुलसीप्रसाद न्यौपाने, राजेन्द्रकुमार राई, राधा थापा, विजयकुमार विश्वास, विमल कार्की र शान्ता पौडेलले आदर्श पुरुष स्वर्गीय मनमोहन अधिकारीको नाममा स्थापना हुने विश्व विद्यालयको विधेयकलाई समृद्ध र विवादरहित बनाउनुपर्छ भन्नुभयो ।

उहाँहरुले विश्वविद्यालय स्थापना गर्दा भोलि आउने कानूनी, नीतिगत र प्राविधिक समस्यालाई समाधान गर्न अहिले नै विधेयकमा गहन छलफल हुनुपर्ने भन्दै यसमा परिमार्जन हुनु आवश्यक छ भन्नुभयो । शून्य समयमा सदस्य राजन राईले खोटाङ टिक्तेल नगरपालिका –१ निवासी टङ्कप्रसाद आचार्यले सहभोज खाएकै बहानामा उहाँलाई अघोषित सामाजिक वहिष्कार गरेकोमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सूयर्माराज राईले सवारी चालक अनुमतिपत्रमा देखिएको अनियमिततालाई रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी भदौ १ गते दिउँसो १ बजे बस्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस्