गुल्मीका पहिरोपीडितलाई पाँचलाख आर्थिक सहयोग


काठमाडौँ, २८ साउन : काठमाडौँस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसीएन) ले गुल्मीका पहिरोपीडितहरूको सहायतार्थ रु पाँचलाख प्रदान गरेको छ । आज साँझ राजधानीमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई एचसिसीएनका डीन एवं दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

त्यसअवसरमा मन्त्री ज्ञवालीले दैवी विपत्तिमा परेका गुल्मेलीप्रति सहानुभूति र सद्भाव दर्शाउँदै आर्थिक सहयोग गरेकामा एचसिसीएनप्रति आभार प्रकट गर्नुभयो । पहिरोपीडितलाई सघाउनु एचसिसीएनको दायित्व भएको बताउँदै डीन श्रेष्ठले रकम थोरै भए पनि त्यसले अन्य सङ्घसंस्थालाई पनि सहायताका निम्ति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्