सिङ्घिया खोला छेउमा बस्ने ३० भन्दा बढी घरहरु डुबानमा


विराटनगर, ३१ असार : सिङ्घिया खोलाको नदीले उकासेको जग्गामा बस्दै आएका ३० भन्दा बढी घरहरु अझै पनि डुबानमै छन् । विराटनगर र कटहरी गाउँपालिका भएर बग्ने सिङ्घिया खोलामा आएको बाढी बस्तीमा छिरेर वडा न १ का दुई टोल डुबानमा परेका हुन् ।

पीडित चर्खादेवी पण्डितले घर डुबानमा पर्दा आश्रय लिएर छिमेकीको घरमा बसेको र छिमेकीको घरमा पनि बाढी छिरेपछि आफू जस्तै धेरै परिवार त्यही नजीकको नारी विकास संस्थाको भवनमा गएर बसेका बताउनुभयो । त्यस भवनमा थुप्रै बाढी पीडित बस्दै आएका छन् । एकै ठाउँमा धेरै जना खाँदिएर बस्नु परेको र सुत्न तथा खान समस्या परेको उहाँहरुको भनाइ छ ।

विभिन्न संस्थासहित वडा कार्यालयले खानेकुरा उपलब्ध गराएका छन् । बाढीका कारण बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । घरमा भएका सबै सामान नष्ट भएर समस्या भएको पीडितले बताएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस्