उच्च शिक्षाका लागि विदेशी मुलुक गए पनि अध्ययनपछि स्वदेश फर्कन आग्रह


काठमाडौँ, २७ असार : विदेशमा उच्च शिक्षा पढेर स्वदेश फर्केकाले नयाँ पुस्तालाई पनि विदेशमा पढाइ र सीप सिकेर आफ्नै देशमा आएर योगदान गर्न सुझाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा जारी १३औँ शैक्षिक मेलामा आज आयोजित छलफल कार्यक्रममा उच्च शिक्षाका लागि १३ वर्ष विदेशी भूमिमा बिताउनुभएका डा समीरमणि दीक्षितले उच्च शिक्षाका लागि विदेशी मुलुक गए पनि अध्ययनपछि स्वदेश फर्कन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “उच्च शिक्षाका लागि विदेश जानु राम्रो हो तर विदेशमा गुणस्तरीय शिक्षा लिएर नेपाल फर्कन सकियो भने निकै राम्रो हुन्छ । विदेशमा पढ्न मात्रै जाने होइन, पढाइसँगै काम गरेर नेटवर्क सकिन्छ । स्वदेश फर्केपछि त्यसको उपयोग गर्न सकिन्छ ।” समाजवादी पार्टीका युवा नेत्री मानुषी यमी भट्टराईले विद्यार्थी रहरभन्दा बाध्यताले विदेश गइरहेको जनाउँदै आफू पनि बाध्यताले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पढ्न गएको बताउनुभयो ।

बुलबुल चलचित्रका निर्देशक विनोद पौडेलले आफूले बेलायतमा सिकेको गुणस्तरीय शिक्षा प्राप्त गरेकै भरमा चलचित्रलाई अन्तरराष्ट्रियस्तरमा पुयाउन सकेको अनुभव सुनाउनुभयो । इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्शका क्षेत्रमा शुद्धीकरणका लागि आफूहरुले पहल गरेको र त्यसमा सरकारको सहयोग हुनुपर्ने बताउनुभयो ।

अविरल वर्षाका बाबजुद मेलाको दोस्रो दिन आज करीब पाँच हजार जनाले अवलोकन गरेका छन् । मेलामा ३०० भन्दा बढी कक्षबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । यही असार २९ गते आइतबारसम्म चल्ने मेलामा रक्तदान तथा प्राथमिक उपचारको व्यवस्थासमेत गरिएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बिहीबार सो मेलाको उद्घाटन गर्नुभएको थियो ।  (रासस)

 

 

प्रतिक्रिया दिनुहोस्