२०७४ असार तेस्रो सातादेखि शुरु भएको चक्रपथ वाफल खण्ड सफाइ अभियान सय हप्तामा


काठमाडौँ, २७ असार : चक्रपथको वाफल खण्ड सफाइको १०० औँ हप्ता पुगेको अवसरमा असार २८ गते शनिबार विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । विसं २०७४ असार तेस्रो सातादेखि शुरु भएको सफाइ अभियान १०० हप्ता पुगेको अवसरमा चक्रपथ सफाइमा समाजको भूमिका विषयक छलफलका साथ हालसम्मको अभियानमा सहयोग गर्ने अभियानकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । विसं २०७१ साउनदेखि माछापोखरीबाट कलङ्की चोकसम्म शुरु गरिएको सफाइ चक्रपथ विस्तारका कारण रोकिएको थियो ।

त्यसपछिको सफाइमा वाग्मती, विष्णुमतीलगायत स्थानमा सहभागी भई विसं २०७४ असारदेखि पुनः शुरु भएको अभियानले निरन्तर १०० हप्ता पार गरेको हो । कार्यक्रमका अवसरमा बिहान ७ बजे कलङ्कीचोकबाट सफाइ एवं बाजागाजा र यालीसहित सोल्टीदोबाटोमा आएर विशेष कार्यक्रम गरिने जनाइएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा हुने कार्यक्रममा सरकारका मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी, चक्रपथ सफाइ अभियान पनि शुरु भएको थियो । वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट हालसम्म देशका प्रमुख शहरका १०५ स्थानमा प्रत्येक हप्ता शनिबार सफाइ अभियान भइरहेको छ । सफाइ अभियानले जागरणको रुप लिए पनि फोहर व्यवस्थापनमा ठोस काम हुन नसकेको, स्थानीय तहले सफाइ अभियानलाई सहयोग नगरेकोलगायत गुनासो पनि सुनिँदै आएको छ । शनिबार ३२२ हप्ताको वाग्मती सफाइ थापाथली पुलको कुपण्डोल क्षेत्रमा गरिने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । वाग्मतीका सहायक नदीलगायत चक्रपथको उत्तरी खण्डमा पनि प्रत्येक हप्ता शनिबार बिहान सफाइ हुने गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्