योगासनको सम्पूर्ण जानकारी समेटिएको पुस्तक ‘सम्पूर्ण योग’ सार्वजनिक


भक्तपुर, २८ असार : योगसम्बन्धी ८८ वटा योगासनसहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक ‘सम्पूर्ण योग’ आज सार्वजनिक गरिएको छ । निरु योग घरबासको आयोजना तथा जगातीस्थित रेडियो हिमालयन ९९.७ मेगाहर्जको सहयोगमा घरबास सञ्चालक योगी राजन बाँस्तोलाद्वारा लिखित योगसम्बन्धी पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सोम शर्मा (बजगाई), क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, नमस्ते ख्वप टेलिभिजनका प्रमुख ऋषिकेश श्रेष्ठ, युवा व्यवसायी गोकुल वन र पुस्तक लेखक योगी राजनले पुस्तक विमोचन गर्नुभएको हो ।

कार्यक्रममा गैसस महासङ्घका अध्यक्ष बजगाईले चाँगुनारायण क्षेत्रमा योग पर्यटनको विकासमा तल्लिन योगी राजनको पुस्तकले योग गर्नेका लागि राम्रो खुराक भएको बताउनुभयो । उहाँले योग पर्यटनको सम्भावना र विकासलाई अझै फराकिलो पार्न यो पुस्तक प्रभावकारी हुने बताउँदै भक्तपुरलाई योग पर्यटनका रुपमा समेत विकास गर्दै लैजानुपर्ने बताउनुभयो । भारतमा समेत चारवर्ष योग सिकाएर आउनु भएका राजनले योगका सम्पूर्ण योगासनहरु पुस्तकमा छन् ।

क्रियाशील पत्रकार मञ्चका अध्यक्ष गिरीले पुस्तकमा लेखिएका शब्द र चित्रले योगप्रति रुची राख्नेलाई राम्रो खुराक भएको बताउनुभयो । उहाँले पुस्तकमा कुन रोगका लागि कुन योग गर्ने र कुन योगासनले के फाइदा र के बेफाइदा पुयाउछ भन्नेबारेमा समेत जानकारी दिएकाले यसले औषधिका रुपमा समेत काम गर्ने बताउनुभयो ।

पुस्तकका लेखक योगी राजनले साढे दुई वर्षको अध्ययन, अनुसन्धान गरी १८ वर्ष लामो अनुभवलाई समेटेर तयार पारेको पुस्तक योगका बारेमा रुची राख्ने सबैका लागि उपयुक्त हुने बताउनुभयो । लेखक राजनले २१० पृष्ठ लामो सचित्र यो पुस्तक बिक्रीबाट सङ्कलित रकममध्ये २५ प्रतिशत रकम गरीब विद्यार्थीहरुको पोशाक वितरणमा खर्च गरिने बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्