अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने महानिरीक्षक राईले बताउनुभएको छ


काठमाडौँ, २७ असार : अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बताउनुभएको छ । अपराध अनुसन्धान कार्ययोजनाअन्तर्गत सम्पादन भएका कार्यको आज समीक्षा बैठकमा उहाँले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई उक्त कार्ययोजनाले पूरा गरेको उल्लेख गर्दै अपराध अनुसन्धानको चुनौती सामना गर्न कार्ययोजनासक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले समीक्षाबाट प्राप्त सुझावलाई आगामी दिनमा वस्तुनिष्ठ रुपले प्रयोग गरी अपराध अनुसन्धान क्षेत्रलाई सुधार गर्दै प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । अनुसन्धान तथा अभियोजन समेतका कार्यलाई सुदृढ एवं समयानुकूल आधुनिकीकरण गर्न कार्ययोजना माध्यम भएको चर्चा गर्दै राईले कार्ययोजना सफल कार्यान्वयन गरी नागरिकको चाहना र राज्यको उद्देश्य पूरा गर्न रचनात्मक सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायब् महानिरीक्षक पिताम्बर अधिकारीले नेपाल प्रहरीले अनुसन्धानको क्षेत्रमा एउटा विशेष स्थान राखेको बताउँदै ‘पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा’ भन्ने नारासहित प्रहरीले अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू गरेको थियो ।

सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले अपराध अनुसन्धान र शान्ति सुरक्षाका लागि गरिने लगानी विकास र समृद्धिकै लागि भएकाले अन्यथा लिन नहुने विचार व्यक्त गर्नुभयो । प्रा डा हरिहर वस्तीले अपराध अनुसन्धानको क्रममा मेडिकल क्षेत्रको महत्व पहिचान भइसकेको अवस्थामा सबुत प्रमाणलाई बढी वैज्ञानिक बनाउन पहल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेपाल प्रहरीको अनुसन्धानसम्बन्धी विशिष्टिकृत ब्यूरो, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, फरेन्सिक विज्ञ, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदार र मुद्दा चल्ने प्रहरी एकाइका प्रतिनिधिको सहभागिता रहेको थियो । अपराध अनुसन्धान कार्ययोजना २०७१ ले अपराध अनुसन्धान र अभियोजनमा पारेको प्रभावको समीक्षा र सामूहिक छलफलबाट साझा धारणा तथा भावी रणनीति तयार गरी अगाडि बढ्ने उद्देश्यले समीक्षा बैठक आयोजना गरिएको हो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्