प्रदेश नं ३ सरकारद्वारा विपद् व्यवस्थापनको तयारी पूरा, चालू आवमा रु पाँच करोड विनियोजन


हेटौँडा, २६ असार : वर्षासँगै आउने बाढी, पहिरो तथा भूक्षयका कारण भौतिक तथा मानवीय क्षतिलगायत विपद्का घटना हुन नदिन तयारी गरिएको छ । प्रदेश नं ३ सरकारले विपद् व्यवस्थापनका लागि चालू आवमा रु पाँच करोड विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रमअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रु पाँच करोडको कोष खडा गरिएको छ । मन्त्रालयमा विपद् व्यवस्थापन शाखा गठन गरिएको छ । शाखा अधिकृत पेशकुमार पोखरेलले खर्च गर्ने कार्यविधिसमेत तयार भएको जानकारी दिनुभयो । प्रदेशभरका ११९ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन कोष र समिति निर्माणका लागि मन्त्रालयले निर्देशन दिएको छ ।

शाखाका अनुसार मन्त्रालयले दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङमा विपद् व्यवस्थापनसम्बन्धी आवश्यक परामर्श र तालीम प्रदान गरिसकेको छ । मन्त्रालयले प्रजिअ, स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतलाई समेत तालीम दिएको थियो ।

यसैबीच मकवानपुरका स्थानीय तहले विपद् व्यवस्थापनको पूर्ण तयारी गरेका छन् । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विपद् व्यवस्थापनका लागि प्रत्येक वडामा तत्काल उद्धार संयन्त्र बनाइएको बताउनुभयो । कैलाश, मकवानपुरगढी, इन्द्रसरोवरलगायत गाउँपालिकाले पनि विपद् व्यवस्थापनको तयारी गरेका छन् । प्रजिअ आशमान तामाङले विपद्पछिको उद्धार, राहत र पुनस्र्थापनका लागि लागि तयारी गरेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्