पोखरालाई पर्यटकीयसँगै खेलकूदको राजधानी बनाइने : मुख्यमन्त्री गुरुङ


कास्की, २६ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीयसँगै खेलकूदको राजधानी बनाउन सरकार लागि परेको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले केही नीतिगत काम सकेर पोखरालाई खेलकूदको राजधानी घोषणा गरिने बताउनुभयो । आगामी दिनमा संस्थागत र संरचनागत हिसाबले अघि बढेर खेलकूदलाई व्यावसायीकरण गर्ने तथा खेलाडी, निर्णायक र प्रशिक्षकलाई खेल क्षेत्रमा टिकाइराख्ने योजना बनाएर सरकारले काम गर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकूदको विकासका लागि खेलकूद एकेडेमी स्थापना गर्न सरकारले आगामी वर्ष बजेट विनियोजन गरेको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीयता आइसक्दा समेत खेलाडी तथा प्रशिक्षकको जीवनमा परिर्वतन आउन नसकेको उल्लेख गर्नुभयो ।

प्रतियोगिता आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु खेलका ४८ स्वर्ण, ४७ रजत र ६० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । प्रदेशका ११ जिल्लाबाट जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस्