रोगग्रस्त त्रिविको उपचार गर्ने दरो इच्छाशक्ति र निर्भीकता बोकेको चिकित्सकको खोजी


काठमाडौँ, २६ असार : “अब रोग खुट्टिसकेको छ, निदानका लागि दरो इच्छाशक्ति र निर्भीकता बोकेको व्यक्तिको खाँचो छ । हालैका दिनमा त्रिविमा फुटिरहेका घाउहरूले पनि उपचारको सही तरिकाको निर्देशन गरिरहेका छन् ।” मुलुककै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समयमा एकपछि अर्को बदनामीका घटना सार्वजनिक भएपछि यसका पदाधिकारीलाई दिक्दारी लाग्नु अन्यथा होइन । त्रिवि सेवा आयोगको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराइएको र परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखामा न्यून अङ्क ल्याएका विद्यार्थीलाई अङ्क थपेर उत्कृष्ट बनाइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेपछि विश्वविद्यालयको दुरुहता थप प्रदर्शित भएको हो ।

“हार्डवेयरको पाटाको निर्माण बरु सजिलो हुँदोरहेछ तर सफ्टवेयरको पाटाको निर्माण भने अत्यन्त जटिल हुँदोरहेछ”, उपकुलपति प्रा डा तीर्थराज खनियाँ नेतृत्वको पदाधिकारीको कार्यकाल सकिन डेढ महीना बाँकी रहेको समयमा बुधबार सम्पन्न त्रिविको ६०औँ स्थापना दिवसका बैठकमा शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले व्यक्त गर्नुभएको यो अभिव्यक्तिमा विश्वविद्यालय आन्तरिकरुपमा कति ग्रस्त छ भन्ने दर्शाउँछ । हाल विभिन्न ११ विश्वविद्यालय सञ्चालनमा रहे पनि उच्चशिक्षाको ८० प्रतिशत विद्यार्थी हिस्सा त्रिविमा छ । हाल त्रिविका तीन लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विभिन्न तहमा वार्षिक ७० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण हुन्छन् ।

विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा, भ्रष्टाचार, पदाधिकारीबीच बेमेल, तालाबन्दी, हेलमेट शिक्षक, विद्यार्थी राजनीति, शोधपत्र खरीब–बिक्री, शैक्षिक क्यालेण्डरको बेवास्तालगायत समस्या वर्षांैैदेखि गाँजिएर रहेका छन् । आगामी भदौको दोस्रो सातामा रिक्त हुने त्रिविलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका लागि दौडधुप शुरु भएसँगै नयाँ नेतृत्वका चुनौतीबारे बहस उत्पन्न भएको छ । कस्ता प्राज्ञिक व्यक्ति पदाधिकारीमा आएमा विश्वविद्यालयको गुमेको फिर्ता होला भन्ने चासो उत्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा उषा झा भन्नुहुन्छ, “उपकुलपति हुने व्यक्तिले उसको कार्यालयमा गरिने स्पष्ट कार्ययोजना पेश गर्नुपर्छ । त्यसमध्ये उत्कृष्ट कार्ययोजना हुने योग्यतम्लाई नियुक्ति गरिनुपर्छ ।”

विद्यमान कानूनअनुसार छनोट समितिको सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिहरुको नियुक्त हुन्छ । यस मापदण्डलाई सुधार र परिमार्जनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा गठन गरेको कार्यदलले दिएको सुझाव मन्त्रालयले अध्ययन गरिरहेको छ । मन्त्रालयका सचिव खगराज बरालका अनुसार राष्ट्रपति कुलपति हुने जस्ता सुझावहरु उपयुक्त नभए पनि अन्य पक्षहरु अध्ययन भइरहेको छ । कुलपतिले पनि यसबारे उचित निर्णय गर्नुहोला ।”

“आज हाम्रा अभिभावकका अगाडि छौँ । यहाँ कोही परचक्री छैन । यसैले आफ्नो घरभित्र मैले आफ्नो मुटु दुखेको कुरा लुकाइरहन सकिनँ”, भावुक हुँदै शिक्षाध्यक्ष डा त्रिपाठीले भन्नुभयो, “विश्वविद्यालयको मुटु दुखिरहेको कुरा हाम्रा आदरणीय अभिभावकले थाहा पनि पाउनुपर्छ र मनन पनि गर्नुपर्छ । हाम्रा खेत खलियानमा बाढी पसिरहेछ । कान्लासुर्काहरूलाई पहिरोले ताछिरहेछ । हामी गुन्द्री÷भकारी बोकेर गोठ सारिरहन बाध्य छौँ ।” उहाँले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई सम्बोधन गर्दै भन्नुभयो, “विश्वविद्यालयका हजुरबुबा भने पनि, बुबा भने पनि यहाँ नै हुनुहुन्छ । हामीलाई अभिभावकका तर्फबाट अभयदान चाहिएको छ ।”   (रासस)

प्रतिक्रिया दिनुहोस्