वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कारबाट बाल गायक आयुष केसी सम्मानित


काठमाडौँ, २६ असार : वासुदेव कोइराला ‘मुनाल’ बालप्रतिभा पुस्कारबाट बाल गायक आयुष केसी सम्मानित भएका छन् । सानै उमेरमा गीतसङ्गीतका क्षेत्रमा योग्दान पुयाएका केसी रु २१ हजारसहित सम्मानित भएका हुन् । गायक तथा सङ्गीतकार मुनालको ७०औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गायक केसीलाई सम्मान गर्दै मुनाल गायक मात्र नभएर नेपाली समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिने तथा बालबालिकालाई सही बाटामा हिँड्न सिकाउने व्यक्ति भएको बताउनुभयो ।

पूर्वप्रधानन्याधीश सुशीला कार्कीले मुनालको देन र उपलब्धिलाई लिएर परिवारले मात्र नभई समाज र राष्ट्रले पनि सम्मान गर्नुपर्ने बताउँदै उनका कृतिहरुलाई एकेडेमीमा सङ्कलन गरेर राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रा डा कृष्णहरि बरालले यस्ता महत्वपूर्ण व्यक्तित्वको नामबाट स्थापित संस्थाले भोलिका दिनमा बालबालिकाका लागि मात्र नभई समाज तथा राष्ट्रकै लागि योगदान पुयाउने धारणा राख्नुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले नेपाली समाजमा मुनालजस्ता ओझेलमा परेका धेरै प्रतिभालाई राष्ट्रले खोजी सम्मान गर्नुपर्ने बताउनुभयो । नाटककार अशेष मल्लले बालबालिकाका लागि नै भनेर जीवन समर्पण गर्ने पहिलो नेपाली मुनाल नै भएको दाबी गर्नुभयो ।   (रासस)

प्रतिक्रिया दिनुहोस्