सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा अर्थ विधेयक पारित


धनगढी, २६ असार : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ पारित गरिएको छ । यसैगरी आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई पनि बैठकले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बैठकमा उक्त प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि आगामी आवको बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री बोहराले कमीकमजोरी सुधार गर्दै बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनियमितता र भ्रष्टाचार गरेको प्रमाण फेला परे जो कोहीलाई कारवाही गर्न सरकार पछि नहट्ने मन्त्री बोहराले प्रतिबद्धता व्यक्त गर्नुभयो । समानुपातिक सदस्यहरुलाई बजेट विनियोजन गर्दा विभेद गरिएको गुनासोबारे उहाँले सबैलाई न्याय दिन कुनै कञ्जुस्याइँ नगरिने र यसका लागि कार्यविधि परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश सरकारले ल्याएको अगामी आवको बजेटबारे सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले असन्तुष्टि राखेका थिए ।

बैठकको प्रारम्भमा समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य शान्ति नेपालीले भारतको बैङ्लोरमा बझाङको थलारा गाउँपालिका—२ का नारायणबहादुर खड्का, उहाँकी श्रीमती निर्मला र छोरी अनुष्काको घर भत्किँदा च्यापिएर निधन भएकाले मृतकका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि आज बिहान बसेको प्रदेशसभाको बैठकमा आगामी आवको वार्षिक राजश्व र व्ययको अनुमान (बजेट) माथिको बाँकी छलफल सकिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि असार १ गते रु २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते अपराह्न ३ बजे बस्नेछ ।   (रासस)

प्रतिक्रिया दिनुहोस्