जो खुट्टाले भिडियो बनाउँछन्


–पवित्रा घिमिरे

रामपुर, १९ वैशाखः नेपाली साहित्यमा राम्रो छवि बनाउनुभएका साहित्यकार झमककुमारी घिमिरेको झल्को दिँदै यहाँ एक युवक चम्किएका छन् । उमेरले २० वर्ष पुगेका पाल्पा रामपुर नगरपालिका वडा नम्बर १ बर्दाकोटका यमबहादुर खाम्चा अहिले पनि न त राम्रोसँग बोल्न, हातको सहायतामा काम गर्न न त हिँड्न नै सक्नुहुन्छ । राम्चामा भएको लगनशीलता, मेहनेत र क्षमता भने अचम्मको छ । बाह्र वर्षसम्म ओछ्यानबाट उठ्न नसक्ने खाम्चा त्यसपछि मात्रै केही घिस्रेर मुश्किलले भित्र बाहिर आउन जान सक्ने उहाँको परिवारले बताएको छ । निस्दी गाउँपालिका वडा नम्बर २ आनन्दी भन्ज्याङमा रहेको बालहित माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत खाम्चाले कक्षा ८ सम्म कहिल्यै तृतीय नभएको उनका बुवा मानबहादुरले बताए ।

यमका बुवा मानबहादुरले भने, “शुरुमा त कसरी पढाउने, कसरी हुर्काउने यो मात्रै पिर पथ्र्याे, तर छोरो पढाइमा सधँै प्रथम र द्वितीय भइरह्यो, परीक्षाका बेला बिरामी परेका कारण यस पालि भने चौथो भयो । ” कसैसँग कुरा गर्नुपरे कापीमा खुट्टाले लेखेर बोल्ने खाम्चाले कक्षामा सबै साथीसरह नै पढाएको बुझ्ने विद्यालयका प्रधानााध्यापक नवलसिंह वीरकट्टाको भनाइ छ । खाम्चालाई सजिलोका लागि विद्यालयमा छुट्टै भुइँ बस्ने व्यवस्था मिलाइएको छ । विद्यालयमा परीक्षा शुल्कसमेत नलिएर उनको क्षमता विकासका निम्ति ल्यापटपसमेत किनिदिइएको विद्यालयले जनाएको छ । विकट भेग सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्व बर्दाकोटमा जन्मेका खाम्चाले खुट्टाको औँलाबाटै कापीमा कलमले लेख्ने, ल्यापटपमा टाइप गर्ने तथा मोबाइलमा सबै काम गर्ने गरेका छन् ।

राम्रोसँग अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेख्ने खाम्चाले कविताले कापीसमेत भरेका छन् । देश, समय परिस्थिति, परिवार तथा आफ्ना जिल्ला र गाउँका विषयमा धेरै सिर्जना कोरेका छन् । खाम्चा दुई खुट्टाको सहायताले मोबाइल तथा ल्यापटपमा भिडियो बनाउने, तस्वीर खिंच्नेदेखि विभिन्न विषयमा लेखसमेत लेख्ने गर्छन् । सबैका छोराछोरीलाई राम्रो देखेकी खाम्चाकी आमा योगमायाले शुरुमा अपाङ्गता भएको छोरालाई देख्दा दुःखी भएको तर अहिले गाउँका कसैले चलाउन नजान्ने ल्यापटप छोराले चलाउँदा खुशी लागेको बताइन् ।

योगमायाले बोल्दाबोल्दै छोराले ल्यापटप तथा मोबाइलमा खुट्टाले थिचेर पालैपालो भिडियो खिंच्दै गरेको देखेर हर्षका आँशु बगाउँदै भन्नुभयो, “हेर के के जानिसक्यो, अहिले त उसको झोला बोक्दिएर स्कूल पु¥याउँदा पनि खुशी लाग्छ, स्कूलमा सर म्याडमले छोरो जान्ने छ भन्नुहुन्छ, रमाइलो लाग्छ । सानैदेखि मैले भोगेको सबै दुःख बिर्सन्छु । अपाङ्गता भएको छोरो भनेर आमाबाबुलाई पिर नै छैन, उल्टै विकट गाउँमा हुर्केर पनि अन्य व्यक्तिसरह काम गर्छ । पढाइमा लगनशील छ ।” यमकी आमाले छोराले गरेको प्रगतिले भविष्यमा ठूलो मान्छे बन्ने आशा जगाएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्