आशिष स्मृति पत्रकारिता पुरस्कार’ पन्दाकलाई


इलाम, १ वैशाख : नेपाल पत्रकार महासङ्घ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष ताप्लेजुङका पत्रकार चन्द्र पन्दाकलाई प्रदान गरेको छ । पत्रकार आशिष राईको स्मृतिमा प्रदान गरिएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका पन्दाक गोरखापत्र दैनिकको ताप्लेजुङ सम्वाददाता रहनुभएको छ । रु १० हजार नगदसहित उक्त पुरस्कार पन्दाकलाई पत्रकार महासङ्घका केन्द्रीय सदस्य सटेन्द्र जगेबुले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

पत्रकार महासङ्घ इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का उपाध्यक्ष सोमनाथ सुशेली, जिल्ला प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठ लगायतको उपस्थिति थियो ।

विसं २०५९ को वैशाख १ गते पौडी खेल्ने क्रममा मृत्यु हुनुभएका राई रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो । महासङ्घले स्वर्गीय राईको सम्झनामा वर्षेनी मेचीका एक सक्रिय पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ । यसभन्दा अघि यस पुरस्कारबाट बेनुप भट्टराई, राजु शिवा, मोहनकाजी, भीम चापागाईं, गणेश साम्पाङ, आनन्द गौतम, युवराज गौतम, तोयानाथ भट्टराई, रमेश समदर्शी, गोविन्द लामिछाने, कोकिला ढकाल, सीता निरौला, नमीन ढकाल र राजकुमार दाहाल पुरस्कृत हुनुभएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्