कष्टकर ‘राहु पूजा’


सप्तरी, २७ माघ  : दुसाध अर्थात् पासवान जातिको दलित पुजारी राखेर हरेक वर्ष तराई÷मधेशमा मनाइने ‘राहु पूजा’ आज सप्तरीमा मनाइएको छ । सुरुङ्गा नगरपालिका–५ कुशहामा कष्टपूर्ण र दुस्साहसपूर्ण ढङ्गले मनाइने ‘राहु पूजा’ श्रीपञ्चमीका दिन गरिएको हो । जुनसुकै जाति, धर्म र समुदायका व्यक्तिले गर्न सक्ने यो पूजामा पुजारी भने दुसाध जातिकै हुने परम्परा छ ।

कबोला (भाकल) पूरा भएपछि गरिने राहु पूजामा विशेषगरी सूर्य भगवान्को पूजाआराधना गरिन्छ । सूर्य भगवान्ले दुसाध बाहेक अन्य जातिले दिएको अघ्र्य स्वीकार नगर्ने मान्यताका आधारमा दुसाध जातिकै पुजारी बनाउने परम्परा रहिआएको राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रीत पासवानले बताउनुभयो ।

पुजारीका रुपमा यी सबै प्रक्रिया सुरुङ्गा नगरपालिका–८ मल्हन्माका सबइञ्जिनीयर सन्तोषकुमार पासवान र सुरुङ्गा नगरपालिका–७ का हरि पासवानले पूरा गर्नुभयो । पूजामा पुजारीले बाँसमा बाँधेको तरबारको धारमा नाङ्गो खुट्टाले टेकेर उभिने, उम्लँदै गरेको खीरको भाँडामा नाङ्गो हात हालेर खीर सबैलाई देखाउने, बल्दै गरेको आगोमा नाङ्गो खुट्टाले हिँड्ने र भेडालाई दाँतले च्यापेर नमरुञ्जेल घुमाउने गरिन्छ । पुजारीकै नेतृत्वमा थुप्रै दुसाध बलेको आगोबाट हिँडे ।

राहु पूजा गर्दा सन्तान प्राप्ति हुने, आवाजविहीनको आवाज आउने, दीर्घ रोग निको हुने, सुख समृद्धि प्राप्त हुने र इच्छाइएको वस्तु पाइने जनविश्वास रहिआएको पुजारी सन्तोषका दाजु दीपेन्द्र पासवान बताउनुहुन्छ । छोरा पाउने भाकल पूरा भएकाले राहू पूजा गराएको सुरुङ्गा नगरपालिका–५ का दीपेन्द्र पासवानले बताउनुभयो । परापूर्वकालदेखि चल्दै आएको पूजामा सप्तरीलगायत सिरहा, सुनसरी र सीमावर्ती भारतीय क्षेत्रका सर्वसाधारण जम्मा भए । (रासस)

प्रतिक्रिया दिनुहोस्