गाईसँग सम्बन्धित चलचित्र गोपीमा काम गरेर विपिन, वर्षा र सुरक्षामा आएको परिवर्तन यस्तो छ


काठमाडौँ । चर्चित कलाकारहरु विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको अभिनय रहेको फिल्म गोपी अहिले चर्चामा छ । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी चर्चामा रहनुको मुख्य कारण हो यसको कथा गाईसँग सम्बनिधत हुनु । पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘गोपी’ मा विपिनले गाइपाल्ने एक किसानको भूमिका निर्वाह गरेका छन् । बिहिबार फिल्म युनिटले आयोजना गरेको एक कार्यक्रममा विपिनले गाइगोठमा खेल्दा बेग्लै खालको अनुभूति भएको सुनाए । सानोमा पनि गाइगोठमा खेल्दै हुर्किएको भएकोले अभिनयमा पनि कुनै कठिनाई नपरेको विपिनको तर्क थियो ।

विपिनले फिल्ममा प्रेम रोमान्स, पारिवारिक द्धन्द्ध सबै रहेको खुलाउँदा अभिनेत्री सुरक्षाले पनि ‘गोपी’ले स्वदेशमै केही गर्न चाहनेका लागि प्रेरणा दिने सुनाइन् । गोपी जस्तो बिषयमा अझ धेरै फिल्म निर्माण हुनुपर्छ । तव मात्र नेपाली फिल्मको बजार उभो लाग्छ । फिल्ममा नबिनत बिषय भयो भने आफु पारिश्रमिकमा ध्यान नदिने उनले सुनाइन् । त्यस्तै अर्की नायिका वर्षा राउत अहिले काठमाण्डौमा रमाएपनि, उनी जन्मिएको आफ्ना बुबाको घर सिन्धुलीका ति बालापनका दृश्यहरु अहिले ताजा भएको बताइन् ।

यसैले बुबासँग गाउँमा जाँदा उनले जनावरसँग खेल्ने गरेको सुनाइन् । यतिमात्र होइन, यो चलचित्रमा काम गरेपछि बर्षालाई आफ्नै देशमा केही गर्न मन लागेको छ । उनले भनिन्–‘मलाई पनि कहिलेकाही विदेशमा गएर केही गरौ भन्ने लागेको थियो । तर, पछि आफूले नै यहाँ केही गर्न थालेपछि विदेश जाने सोच हट्यो । यो चलचित्रमा काम गरेपछि झनै उत्प्रेरणा मिलेको छ ।’ पत्रकारिताबाट निर्देशनमा होमिएका दीपेन्द्रले फिल्म निर्माणको विषय सजिलो नरहेको बताए । ‘फिल्म बुझ्न सजिलो रहेछ । तर बनाउन गाहे रहेछ’ उनले अगाडि भने ‘समिक्षा गर्नु भन्दा फिल्म बनाउन गाहे रहेछ ।’ दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको लेखन छ । चलचित्रमा कलाकार अंकित खड्का, भोलाराज सापकोटाको पनि मुख्य भूमिका रहेको चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माताका रुपमा रहेका छन् । यो चलचित्र माघको १८ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्