राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा कास्की कारगारको अवलोकन


पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्की जिल्ला कारागारको अवलोकन गरेका छन् । पञ्चायतबिरुद्धको भूमिगत आन्दोलनका क्रममा सोही कारागारमा करिब एकवर्ष बिताएका अध्यक्ष तिमिल्सिनाले शनिबार त्यहाँ पुगेर थुनुवा तथा कैदी बन्दीको अवस्था बुझेका हुन् । पञ्चायतविरुद्धको संघर्षको समयमा विसं २०४२ देखि २०४६ सालसम्म विभिन्न स्थानमा गरी अध्यक्ष तिमिल्सिना चारवर्ष थुनामा परेका थिए । कास्की कारगारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तिमिल्सना केही समयसँगै बसेका थिए ।

सो क्रममा उनले कैदी बन्दीको अवस्था, उनीहरुको सुविधा, सुत्ने स्थान, शौचालय, पुस्तकालय, खाना खाने मेसलगायत अवलोकन गरेका थिए । उनीसँगको भेटका क्रममा कैदी बन्दीका नाइकेले कास्की कारागारअन्तर्गत महिला ब्लक, पुरुषको पुरानो र नयाँ ब्लकको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।

अध्यक्ष तिमिल्सिनाले जेल जीवनका क्रममा आफू र प्रधानमन्त्री ओली बसेको कोठासमेत हेरेका थिए । अवलोकनपछि उनले जेलको अवस्था पहिलेभन्दा धेरै सुधार भएपनि सरकारले पछिल्लो समय भनेजस्तो सुधारगृह बन्न नसकेको टिप्पणी गरे । ‘जेल हामी बसेको समयभन्दा सफा र व्यवस्थित भएको रहेछ,’ उनले भने, ‘तर, सरकारले भनेजस्तो सुधारगृह बनाउनका लागि खाना, बस्न, स्वास्थ्य उपचारसँगै सीप तथा ज्ञानका लागि आवश्यक पूर्वाधार र अवसर जरुरी हुन्छ । त्यो अलि पर्याप्त देखिएन ।’

कास्की कारागारमा ५३ महिला र ७ सय ५ जना पुरुष गरी ७ हजार ५८ थुनुवा तथा कैदीबन्दी रहेको कारागारका निमित्त जेलर विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्