न्याय माग्दै काठमाण्डौ उकालो लागेका निर्मला पन्तका आमाबुबाले गृहमन्त्रीलाई भेटे, भेटेमा के भने गृहमन्त्रीले ?  


छोरीको हत्यारालाई कारवाही र न्यायको माग गर्दै काठमाण्डौ आएका निर्मला पन्तका आमाबुबाले नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई भेटेका छन् । कञ्चनपुरकी निर्मला पन्तकी आमा आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले गृहमन्त्री रामबहादुर थापालाई भेटेका हुन् । गृहमन्त्रीलाई भेटेर उनिहरुले न्यायको माग गरेका छन् ।

भेटमा गृहमन्त्री थापाले निर्मलाको हत्याराको नजिक आफुहरू पुगिसकेको बताएका छन् । हत्याराको नजिक पुगिसकेको बताउँदै गृहमन्त्री थापाले दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । घटनाको बारेमा आफुहरुले पहिले बाट नै ध्यान दिएको उनको भनाइ छ । घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको गृहमन्त्रीले बताएका छन् ।

गृहमन्त्रालय पुगेर मन्त्री थापालाई भेटेका निर्मलाका आमाबुबाको दोषीलाई कारवाहीको मागसहितको पत्र पनि बुझाएका छन् । निर्मलाका आमा, बुबाले घटना भएको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

भेटमा गृहसचिव, मानवअधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । पत्र बुझ्दै मन्त्री थापाले १३ वर्षीया निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषीको पहिचान प्रहरीले गर्न नसक्दा आफू असन्तुष्ट रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्