‘गुडमर्निङ’ लेखेर फेसबुकमा फोटो पोस्ट गर्दा जेलको बास

Posted By Badal Nepal || Date: 3 December, 2017

फेसबुकमा आफ्ना फोटोहरु र अन्य कुराहरु पोस्ट गर्नु अहिले सामान्य भइसकेको छ । तर, फेसबुकमा पोस्ट गरेको फोटोकै कारण कसैकसैलाई भने निकै समस्या पर्ने गरेको छ । यस्तै भएको छ प्यालेस्टाइनका एक व्यक्तिलाई । उनले फेसबुकमा फोटो पोस्ट गर्दा जेलको हावा खानु परेको छ ।

यहाँ निर्माणसम्बन्धी कार्य गर्ने एक व्यक्तिले बिहान ‘गुड मर्निङ’ लेखेर एउटा फोटो फेसबुकमा पोस्ट गरेका थिए । उनले फोटोमाथि क्याप्सन लेख्दा अरबी भाषामा लेखे । उनले अरबीमा गुड मर्निङ लेखेका थिए तर यसलाई फेसबुक इन्टेलिजेन्सले अंग्रेजीमा अनुवाद गर्दा ‘एट्याक देम’ (उनीहरुमाथि आक्रमण गर) भन्ने अनुवाद गरिदियो । रमाइलो त के भने ती व्यक्तिको पछाडि रहेको डोजरसमेत यसअघि आतंकवादी आक्रमणका लागि प्रयोग गरिएको मोडलको परेछ ।

इजरायल प्रहरीलाई लाग्यो यो फोटोको माध्यमबाट ती व्यक्तिले कुनै आतंकवादी आक्रमणको तयारी गरिरहेका छन् । यसरी फोटो पोस्ट गर्नु अर्को कुनै आतंकवादीलाई दिइएको इशारा हुन सक्ने प्रहरीलाई लाग्यो । तत्कालै प्रहरीले ती व्यक्तिलाई गिरफ्तार गर्यो । कैयौं सरकारी एजेन्सीलेजस्तै अहिले इजरायल प्रहरीले सामाजिक संजालमा निगरानी गरिरहेको छ । त्यही निगरानीका क्रममा उनी फसेका थिए । तर पछि गल्ती ट्रान्सलेसनको भएको थाहा भएपछि उनलाई रिहा गरिएको छ । एजेन्सी।